काठमाडौँ, ३ असार । सारसको नयाँ प्रविधि एआईबाट अध्ययन गर्न थालिएको छ ।
भक्तपुर बहुमुखी क्याम्पस र लुम्बिनी ग्रिन युथ क्लबद्वारा बेइजिङ फरेस्ट युनिभर्सिटी चीनको प्राविधिक सहयोगमा लुम्बिनी आसपास अध्ययन थालिएको हो । युनिभर्सिटीको प्राविधिक टोलीले लुम्बिनी छेउछाउका तेलार, दानव नदी, गजेडी र गैडहवा तालमा विश्वकै दुर्लभ पन्छी सारसको तस्बिर खिचेको छ । त्यस्तै, लुम्बिनी–तौलिहवा सडकखण्डका विभिन्न ठाउँ, दोहनी, जगदीशपुर, निग्लिहवा, सिसहनिया र तुल्सीडिहवामा पनि सारसको तस्बिर लिइएको छ ।
१० दिनमा रुपन्देही र कपिलवस्तुमा गरेर ३२ हजार स्न्यापभन्दा बढी तस्बिर खिचिएको हो । युनिभर्सिटीको यही प्राविधिक टोलीले सन् २०१५ मा नेपाल आएर यिनै ठाउँमा तस्बिर खिचेको थियो । त्यसबेला २४ हजार स्न्यापभन्दा बढी तस्बिर लिएको थियो ।
१० वर्षअघि र पछि खिचिएको तस्बिरलाई एआई माध्यमबाट पाइथन सफ्टवयेर प्रयोग गरेर अनुसन्धान गरिने भक्तपुर बहुमुखी क्याम्पसका शिक्षण सहायक दिक्पालकृष्ण कर्माचार्यले बताए । १० वर्षअघि तस्बिर खिचेका सारस अहिले छन् कि छैनन् भन्ने यो अनुसन्धानले देखाउँने र यसले सारसको आयु पनि थाहा लगाउन सहयोग गर्ने बताइएको छ ।
साथै अन्तरजिल्लामा सारसको आवागमन कस्तो छ, एक ठाउँ गुड बनाएका सारसले अर्को ठाउँ बनाउँछन् कि बनाउँदैनन्, एउटा जोडीले गुँड लगाएको ठाउँमा अर्को जान्छ कि जाँदैन भन्ने थाहा पाउन सहयोग पुग्नेछ ।










प्रतिक्रिया दिनुहोस्