Banner News

किन भने प्रचण्डले चितवनबाटै चुनाब लड्छु



चितवन, २३ भदौ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताएकाछन ।

पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष दाहालले बताए । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा टुंगो नलागेको बताए ।

उनले भने, पार्टीको जिल्ला तहबाट समन्वय गरेर क्षेत्र निर्धारण हुनेछ । देशका फरक÷फरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर अनुभव संलागेको बताउँदै उनले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि यहाँबाट निर्वाचन लड्न लागेको बताए ।

माओवादी युद्धको उद्गमस्थल रोल्पा, राजधानी काठमाडौँ र तराईको प्रतिनिधित्व गर्दै सिराहाबाट यसअघि निर्वाचन लडेको थिएँ, अब आफ्नो कर्मभूमिबाट चुनाव लड्छु, अध्यक्ष दाहालले भने । आफू चितवनबाट निर्वाचन लड्दै गर्दा यहाँको विकास र राष्ट्रिय राजनीतिमा यस जिल्लाको महत्व झल्कने उनको भनाइ थियो ।

मेरो राजनीतिक क्षेत्र चितवन हुनु यहाँका जनताका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु, अध्यक्ष दाहालले भने। प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्ने उनले बताए । कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुनसक्ने दाहालको भनाइ थियो ।

अहिलेको समयमा सत्ता गठबन्धन काँग्रेससँग भएकाले काँग्रेससँगको तालमेललाई विशेष प्राथमिकतामा दिइएको हो, उनले भने । शान्ति प्रक्रियाका सहयात्री एक ठाउँमा भएर अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्नतर्फ लागेको अध्यक्ष दाहालले बताउनुभयो । स्थानीय तहको निर्वाचन अन्तिमचरणमा पुगेको भन्दै उहाँले प्रदेश र संघको निर्वाचनपछि देश समृद्धितर्फ अगाडि बढ्ने बताए ।

चितवनमा राष्ट्रियस्तरको मिडिया एकेडेमी निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने दाहालले प्रतिवद्धता व्यक्त गरे । संविधानका केही प्रावधानले सधैंँ मिलिजुली सरकार बन्ने परिस्थिति रहेको भन्दै उनले संघको निर्वाचनपछि संविधान संशोधन गरेर निर्वाचन प्रणाली र शासकियस्वरुप परिवर्तन गर्नुपर्नेमा जोडदिए । भूगोल नमिलेको प्रदेशको सीमांकन हेरफेर गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।