राजनीति

६ वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौँ, ११ असार । संघीय संसद्अन्तर्गत आज एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे अर्थ समितिको ७७औँ बैठक आज बस्दै छ । बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमा छलफल हुँदै छ । बस्ने बस्ने बैठकमा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

पूर्वाधार विकास समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिका विषयमा छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलायएको छ । बैठकमा भन्सार विधेयक, २०८० माथि  सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा वाग्मती प्रदेशस्थित दोलखालगायत  क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ । 

बैठक बिहान सवा ११ बजे बस्नेछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्नेछ । 

समितिको २९२ औँ बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ ।