राजनीति

मलको हाहाकार छ, हुन्छ : मन्त्री अधिकारी



काठमाडौँ, १२ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।

आज नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दहीचिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र जम्मा साढे चार लाख टन मल आएको उल्लेख गरे । बजारमा मलको माग ११ लाखदेखि १३ लाख टन रहेको उनले बताए । उनले एकचौथाइ परिमाणले किसानलाई समयमै मल पुर्‍याउन सक्ने स्थिति नरहेको उनले स्पष्ट पारे ।

उनले भने, ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उधारो दूध वर्षौंदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने ? समस्या धेरैतिर छ । तर पनि खुसी मानेर सबैका बीचमा उभिनुपर्ने रहेछ । हामीले जुनसुकै पेसा र व्यवसाय गरौँ, कमजोरी नगरौँ । तल्लो तहमा रहेका किसानलाई हामीले कतैबाट पनि धोका नदिऔँ । एउटा भैँसी र एउटा गाई पाल्नका लागि असाध्यै कठिन हुन्छ । तल्लो तहमा रहेका मानिसहरूलाई धोका नदिऔँ । म मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो, नयाँ परिवर्तन गर्छु । यदि, मुलुकमा हामीसँग आर्थिक सीमितता, आर्थिक संकुचन थिएन भने धेरै चिज हामीले गर्थ्यौं । मलको हाहाकार छ, हुन्छ । जो मन्त्री भए पनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे चार लाख टनभन्दा मल आउँदै आउँदैन । बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ । एकचौथाइ मलले हामीले कसरी किसानलाई समयमा पुर्‍याउन सक्छौँ ? सम्भावनै छैन । तर, राज्यको दायित्व भइसकेपछि ‘चिन्ता नगर्नुस्, छ, आउँछ’ भन्नैपर्छ ।’