काठमाडौँ, १५ असार । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्नेमा जोड दिएका छन् ।
आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखक कार्यालय सहयोगीदेखि हवलदारसम्म आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवलदारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरू प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु ।’ ‘प्रहरीको ती कर्मचारीहरूलाई आधारभूत तह भन्नुपर्छ भनेको छु । प्रहरीको ठुलो सङ्ख्या जवान, हवलदार लगायत हुनुहुन्छ । सबैभन्दा ज्यादा सडकमा १२ देखि १६ घण्टा ड्युटी गर्ने तह त्यो भएको हुनाले ‘प्यारामिट’ नै त्यही जगमा उभिएको छ । त्यसो हुनाले कानुनमा लेख्दा पनि त्यसलाई आधारभूत तह लेखौँ । बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौँ ।’
मन्त्री लेखकले उक्त तहका प्रहरी कर्मचारीहरूको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताए । ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई परिमार्जन गरेर राम्रो भन्दा राम्रो कानुन बनाउने हामी सबैको एकै उद्देश्य हो’ मन्त्री लेखकले भने– ‘नेपाल प्रहरीको सर्भिस ल नै यही हो ।’










प्रतिक्रिया दिनुहोस्