राजनीति

परराष्ट्र मन्त्री राणा र जर्मनीका विदेश मन्त्रीबीच भेटवार्ता



जर्मनी, २४ असार । परराष्ट्र मन्त्री आरजु राणा देउवा र जर्मनीका विदेश मन्त्री जोहान डेविड वेडफुलबीच भेटवार्ता भएको छ ।

जर्मनीको बर्लिनमा मंगलबार भएको भेटवार्ताका क्रममा नेपाल-जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जनाएको छ । त्यस अवसरमा मन्त्री राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारहरूमध्ये एक रहेको तथा आर्थिक, सामाजिक लगायतका क्षेत्रमा नेपालले जर्मनीको सहयोग प्राप्त गर्दै आएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकहरूप्रति धन्यवाद दिएकी थिइन् ।

मन्त्री राणाले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्धन गर्न सामूहिक प्रयास एवं दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखाना लगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन् । उनले त्यसपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरूबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताइन् ।

जर्मनी नेपालका लागि युरोपको दोस्रो ठूलो पर्यटक स्रोत रहेको तथा दुई देशबीच पर्यटनको ठूलो सम्भावना रहेको भए पनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा यसबाट पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबीच सिधा उडानका लागि पनि मन्त्री राणाले आग्रह गरेकी छन् । नेपाली एयरलाइन्सहरू युरोपियन युनियनको हवाई सुरक्षा सूचीमा सूचीबद्ध भएपछिको उडान प्रतिबन्धका कारण नेपाल र युरोपबीच सीधा उडान हुन नसक्दा दुई देशबीचको पर्यटन प्रवर्धनमा गम्भीर असर गरिरहेको जानकारी पनि उनले गराएकी थिइन् । यस विषयमा आफूले सक्दो सहयोग गर्ने आश्वासन जर्मनीका विदेशमन्त्री डेविडले दिएका थिए।

सो भेटका क्रममा मन्त्री डा राणाले नेपालमा जलवायु परिवर्तनको अकल्पनीय असर परिरहेको र यसबाट देशले अनेक दुष्परिणाम व्यहोरिरहेको प्रसंग उल्लेख गर्दै नेपाले अघि सारिरहेको जलवायु न्यायको अभियानमा जर्मनीसँग पनि सहयोगको अपेक्षा गरेकी थिइन्।