समाचार

छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु



काठमाडौँ, २९ असार । कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु भएको छ ।

आफ्नै पक्की र सुरक्षित घर हुँदाहुँदै पनि घरबाहिरको छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका–१, निगाली गाउँकी २८ वर्षीया कमला दमाईको शनिबार राति सर्पको डसाइबाट मृत्यु भएको हो । 

 उनी घरबाट करिब डेढ सय मिटर टाढा रहेको अर्काको जीर्ण छाउगोठमा रात बिताउन गएकी थिइन् । स्थानीय सुचित्र शाहका अनुसार राति करिब १० बजेतिर असुरक्षित छाप्रोमा निदाइरहेकी कमलालाई विषालु करेत सर्पले डसेको थियो । 

छाउगोठमा उनी एक्लै सुतेकी थिइन् । एकाएक सर्पले डसेपछि कमला चिच्याउन थालिन् ।  परिवारले घटना थाहा पाउनेबित्तिकै हो-हल्ला मच्चियो । परिवार छाउगोठसम्म पुग्दा बेहोस अवस्थामा पुगिसकेकी थिइन्, कमला । 

उनलाई बचाउन परिवारले हतार–हतार अटो रिक्सामा राखी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍यायो । तर आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो । कमलाको परिवार पहाडी जिल्ला अछामबाट बसाइँ सरेर तराईको उक्त गाउँमा पुगेको थियो । 

उक्त गाउँमा महिनावारीका बेला महिला तथा किशोरीहरूलाई छाउगोठमा पठाउने चलन अझै जीवित छ । जहाँ १ सय २० घरपरिवारका प्रत्येक छाउगोठ छन् ।