काठमाडौँ, ३१ असार । कांग्रेस र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई सरकारमा सहभागी गराउने गृहकार्य सुरु गरेका छन् ।
कांग्रेस र एमाले मिल्दा पनि राष्ट्रिय सभामा सरकारको पक्षमा बहुमत नभएकाले प्रतिनिधिसभामा ५ र राष्ट्रिय सभामा ३ सदस्य भएको जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
राष्ट्रिय सभामा अल्पमतमा पर्दा सरकारले चाहेजस्तो विधेयक पारित नहुने जोखिम बढेकाले पनि जसपा नेपाललाई सरकारमा ल्याउन खोजिएको बालुवाटार स्रोतले बतायो । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सदस्य आवश्यक पर्छ । कांग्रेसका १६ र एमालेका १० सदस्य छन् । सरकारमा सहभागी लोसपाको १ र जसपा नेपालको ३ सदस्य पक्षमा हुँदा मात्रै सरकारलाई बहुमत पुग्छ ।
सरकारमा सहभागी नभए पनि जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । तर, सरकार सहमतिविपरीत चलेको निष्कर्ष निकाल्दै केही दिनअघि मात्रै पार्टीको केन्द्रीय कार्यकारणी बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरिएको थियो ।
प्रधानमन्त्री ओलीले सोमबार राति बोलाएको बैठकमा अध्यक्ष यादव पार्टीका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवलाई लिएर बालुवाटार पुगेका थिए । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य सकारात्मक ढंगले अघि बढिरहेको बताए । तर, जसपा नेपालका वरिष्ठ उपाध्यक्ष यादवले कांग्रेस र एमालेलाई आफ्नो कोर्स करेक्सन गर्न र सरकारमा सहभागिताबारे रोडम्याप ल्याउन आग्रह गरेको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्