काठमाडौँ, ३१ असार । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आगामी भदौमा हुने विधान महाधिवेशनमा आफ्नो उपस्थितिबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताएकी छन् ।
आज मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले विधान महाधिवेशनमा आफ्नो उपस्थितिबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘पार्टीभित्र कुन संरचनामा के भूमिका भन्ने कुरा माथिल्लो तहको नेतृत्वले महाधिवेशनअघि केन्द्रीय कमिटीले के जिम्मेवारी दिन्छ त्यसमा भर पर्छ’, ‘पार्टी दर्शन नीति र सिद्धान्तले पार्टी चल्ने र त्यसलाई संस्थागत रूपले अघि बढाउनुपर्छ ।’
भण्डारीले कहिलेकाहीँ पार्टीमा व्यक्तिहरूको अभाव हुने भएपनि थुप्रै योग्य व्यक्तिहरू रहेको बताइन् । ‘जबजलाई अघि बढाउन मदन भण्डारीले लागु गर्न पाउनुभएन, उहाँको रहस्यमय निधन भयो । त्यो अनुत्तरित प्रश्न छ । तर पनि पार्टी आफ्नो सिद्धान्तअनुसार अघि बढ्दै यो ठाउँमा आएको छ’, उनले भनिन् ।
भण्डारीले विधान महाधिवेशनमा भाग लिने विषय विधान त १० औँ महाधिवेशनका प्रतिनिधिले भएको पनि बताइन् तर त्यसमा नयाँ प्रतिनिधि र केन्द्रीय प्रतिनिधि पनि थपिएको भन्दै त्यसबारे पार्टीले निर्णय गर्नुपर्ने बताइन् । ‘ जिल्ला अधिवेशनबाट पनि अहिले नयाँ नेतृत्व आएको छ । तिनीहरू हिजो १० औँ महाधिवेशनमा उनीहरू थिएकी, थिएनन् ?’, प्रश्न गर्दै उनले भनिन्, ‘त्यसमा पनि पार्टीले छलफल र निर्णय गर्छ होला । त्यसैगरी जनसङ्गठनमा पनि अधिवेशनहरू भएका छन् । नयाँको प्रतिनिधित्व कसरी हुन्छ ? यो सबै केन्द्रीय कमिटीको छलफलको विषय हुनेछ । यही सल्लाह दिन सक्छु ।’ उनले विधान महाधिवेशनमा आफ्नो उपस्थिति कुन रूपमा हुने भन्ने पनि पार्टीले नै निर्णय गर्ने बताइन् । ‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ उहाँहरूमै भर पर्ने हो । आमन्त्रित हुन्छ वा विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा हुन्छ या अरू कुनै रूपमा हुन्छ ?’, भण्डारीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्