समाचार

साफ महिला च्याम्पियनशिपमा श्रीलङ्कालाई नेपालले हरायो



काठमाडौँ, ३२ असार । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ ।

बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो ।

नेपालका लागि मीना देउवाले ह्याट्रिक गोल गरिन् । यस्तै पुर्णिमा राईले दुई,  समिक्षा मगर र सरिताकुमारी नाथले समान एक गोल गरे ।

यो जीतसँगै नेपालको तीन खेलमा ६ अङ्क भएको छ । जीतविहीन बनेको श्रीलङ्काले अङ्क जोड्न सकेको छैन । तीन खेलमा ९ अङ्क जोडेको घरेलु टोली बङ्गलादेश तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा ३ अङ्कसहित भूटान तेश्रो स्थानमा छ ।

हिजै भएको पहिलो खेलमा बङ्गलादेशले भूटानलाई ४–१ गोलले हरायो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार भूटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।