राजनीति

राष्ट्रिय सभामा सरकार अल्पमतमा : विधेयक पारित गराउन सकस



काठमाडौँ, १ साउन । सरकारलाई दिएको समर्थन बुधबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले फिर्ता लिएसँगै संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सरकार नै अल्पमतमा परेको छ । 

जसपा नेपालको प्रतिनिधिसभामा ५ र राष्ट्रिय सभामा ३ सांसद छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपा १ र मनोनीत १ सांसद मात्र छन् । बहुमतका लागि ३० सांसद आवश्यक पर्ने राष्ट्रिय सभामा यसअघि जसपा नेपालले समर्थन गर्दा सरकारको पक्षमा ३१ सांसद थिए ।

अब राष्ट्रिय सभाको विपक्षमा बहुमत देखिएको छ । माओवादीका १७, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, मनोनीत १ र जनमोर्चाका १ गरी ३० सांसद विपक्षमा हुने भएका छन् । राष्ट्रिय सभामा अल्पमतमा परेसँगै सरकारलाई विधेयक पारित गर्न सकस हुनेछ ।

नागरिक उन्मुक्तिले हालै मात्र प्रतिनिधिसभामा प्रतिपक्षमा बस्ने निर्णय लिए पनि उक्त पार्टीका अरुण चौधरीले पर्यटन मन्त्रालयको राज्यमन्त्रीबाट राजीनामा दिएका छैनन् । जसपा नेपालले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत भने लिनुपर्ने छैन ।

संविधानको धारा १०० (२) मा सरकारले विश्वासको मत लिने व्यवस्था छ । जसमा लेखिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’ सरकारलाई समर्थन दिए पनि जसपा नेपाल सरकारमा सहभागी थिएन ।