राजनीति

एमालेमा उमेर हद र २ कार्यकाल हटाइयो: पदाधिकारी संख्या घटाइयो



काठमाडौँ, २ साउन । पार्टीको मध्यरातसम्म चलेको सचिवालय बैठकले एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल मात्रै पदाधिकारी बन्न पाउने व्यवस्था हटाइएको छ ।

उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव गरेका थिए । यस्तै, पौडेलले पेस गरेको संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव गरिएको छ । यस्तै, उपाध्यक्ष पौडेलले विद्यमान १९ पदाधिकारी संख्या घटाएर ११ राख्ने प्रस्ताव गरेका थिए । पौडेलको प्रस्ताव अनुसार एक अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ५ सचिवको प्रस्ताव गरिएको छ । हाल एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १९ पदाधिकारी रहने व्यवस्था छ । तर, पदाधिकारी संख्या १५ राख्नेमा सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए । ‘११ बाट बढाएर १५ जना पदाधिकारी राख्ने सहमति भएको छ,’ भट्टराईले भने, ‘तर कुन पद राख्ने र थप्ने भन्नेमा छलफल जारी छ ।’ 

यस्तै उपाध्यक्ष पौडेलले केन्द्रीय समितिलाई घटाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । तर, बैठकले २५१ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । हाल एमालेको ३०१ जनाको केन्द्रीय कमिटी छ । 

यो विषयमा शुक्रबार साउन २ मा बस्ने पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीमा थप छलफल हुनेछ । एमालेको भदौ २० देखि ललितपुरको गोदावरीको सभा हलमा विधान अधिवेशन हुँदैछ । 

विद्या भण्डारीको विषय प्रवेश 
एमालेको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किने विषयले प्रवेश पाएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विद्या भण्डारीको विषयमा छलफल हुने बताएका छन् । सचिव योगेश भट्टराईले सचिवालय बैठकपछि अध्यक्ष ओली आफैंले विद्या भण्डारीको विषयमा पार्टीभित्र छलफल हुने बताएको जानकारी दिएका छन् । तर, बिहीबारको सचिवालय बैठकमा भने यो विषयमा छलफल भएन ।