काठमाडौँ, २ साउन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा सक्रिय हुनेबारे पार्टीले आवश्यक निर्णय गर्ने बताएका छन् ।
बिहीबार सचिवालय बैठकमा भण्डारीको विषयमा चर्चा भएको उल्लेख गर्दै उनले आगामी विधान महाधिवेशनसम्म यसको टुंगो लाग्ने बताएका हुन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले भण्डारीलाई नेतृत्व दिन नसकिने र यसबारे कुनै निर्णय नभएको जानकारी दिए । राजनीतिमा आउने निर्णयले पार्ने असरबारे भण्डारीले सोच्नुपर्ने ओलीले बताए ।
उनले भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन किनभने उहाँ आउनुहुन्छ भनेर पार्टीले त्यो ठानेको, मानेको नै अवस्था छैन । दोस्रो, पार्टी काम छाडेर धेरै वर्ष बाहिर रहनुभयो । उहाँसँग संगठनात्मक नेतृत्वमा त्यस्तो अनुभव छैन । उहाँ आफैं राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो । राष्ट्रपति भएपछि उहाँ आउन हुन्छ/हुँदैन ? गणतन्त्रमा के असर पर्छ ? समाजमा के असर पर्छ ? राजनीतिमा के असर पर्छ ? व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ ? सल्लाह गर्नुपर्छ । हामीले जानकारी प्राप्त गरेका छौं । आउँछु भनेका कुरा के हुन् ? उहाँसँग हामीले सोध्नुपर्छ ।’
भण्डारीले केही दिनअघि इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफू एमालेको नेतृत्वमा आउन खोजेको बताएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्