तनहुँ, ३ साउन । जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए ।
उनले भने, “गाउँपालिका मातहत रहेका सात वटा वडा कार्यालयमध्ये यस गत आवमा १ देखि ४ नम्बर वडाका उक्त सङ्ख्याका हलगोरु पाल्ने कृषकलाई अनुदान दिएका हौँ, अनुदानमा रु ११ लाख खर्च भएको छ ।” उनका अनुसार आव २०८२/८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ ।
गोरु पाल्ने कृषकलाई बर्सेनि नदिई एक–एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस किसिमको कार्यक्रम ल्याइएको बताए । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिने गरिएको बताए । यसरी अनुदान पाउने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्