काठमाडौँ, ४ साउन । शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन् ।
मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गरेपछि यो राजमार्ग मध्यरातदेखि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरीका अनुसार बनाइएका डाइभर्सनको तह पार गरेर धमिलो पानी बगिरहेका कारण यातायात ठप्प भएको हो ।
यो खोलाको पुल पटक-पटकको बाढीले बगाएपछि तीन वर्षदेखि यहाँ डाइभर्सनको भरमा यातायात वारपार गराइँदै आएको छ । तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा आएको बाढीका कारण यो सडक अवरुद्ध भएको छ भने ठाउँठाउँमा गएको पहिरोका कारण राँके-रवि ६ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि ठप्प भएको छ ।










प्रतिक्रिया दिनुहोस्