समाचार

साउनको पहिलो सोमबार : पशुपतिनाथ दर्शनमा निःशुल्क बस सेवा



काठमाडौँ, ५ साउन । आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।

श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन् । विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ ।

शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गरेका थिए ।

साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज पहुँचका लागि यस वर्ष निःशुल्क बस सेवा उपलब्ध गराइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार चार वटा बसले चक्रपथ घुमेर भक्तजनलाई मन्दिरसम्म पुर्‍याउनेछन् ।