काठमाडौँ, ६ असार । भक्तपुर जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ ।
समुद्र सतहबाट १ हजार ३९९ मिटर उचाइमा रहेको मध्यपुर थिमी मनोहाराफाँटमा नयाँ प्रजातिको चरा फेला परेको हो ।
नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीका अनुसार नयाँ प्रजातिको चरालाई ‘साइबेरियाली राजपुत्रिका’ (Siberian Sand Plover) नाम दिइएको छ । यससँगै नेपालमा चरा प्रजातिको संख्या ९०२ पुगेको सुवेदीको भनाइ छ ।
नेपालका चराविद कुमुद पराजुली सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनको क्रममा मिति २०८२ असार ६ गते दिउँसो साढे २ बजे नयाँ चरा देखेर क्यामरामा कैद गरेका थिए । नयाँ चरा एकिन तथा पुष्टि गर्न उनीहरुले असार ९ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।
त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविदहरूसँग पनि रायसुझावको आधारमा सो चरा नेपालका लागि नयाँ भएको पुष्टि भएको हो ।
‘चराविदहरू कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले देख्नुभएको उक्त चराको अंग्रेजी नाम Siberian Sand Plover र वैज्ञानिक नाम Charadnus mongolus Pallas, 1776 हो । यसको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको छ,’ नेपाल बर्ड कमिटीका अध्यक्ष डा. सुवेदीले आज साउन ६ गते जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।










प्रतिक्रिया दिनुहोस्