काठमाडौँ, ८ साउन । स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७३–०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तला बगैँचा विस्तारले तीव्रता पाएको हो ।
परियोजना सुरु गर्ने बेलामा कूल ८८७ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो । हाल सो क्षेत्रफल करिब तीन गुणाले विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिए ।
“आर्थिक वर्ष २०८०-०८१ सम्म दुई हजार २५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो”, उनले भने, “गत आवमा १०० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा विस्तार भएको छ ।” परियोजनाले समूह सहकारी, कृषि फार्महरुमा आबद्ध कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, सिँचाइका सामग्री, निलोतुथो, खोप, विषादीलगायत सहयोग गर्ने गरेको छ ।
स्याङ्जामा २४ सहकारी संस्था, ८७ कृषक समूह, २५१ वटा निजी तथा व्यावसायिक फार्ममा सुन्तला बगैँचा विस्तार गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्