समाचार

पिकअप दुर्घटना हुँदा दुई गाईसहित एकजनाको मृत्यु



काठमाडौँ, ९ साउन । सिन्धुलीमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप आज बिहान करिब १२ः५० बजे सुनकोसी गाउँपालिका–६, शीतलपाटीमा दुर्घटना भएको हो ।

गाडीमा राखेर लैजाँदै गरेका दुई जर्सी गाई पनि मरेको अवस्थामा फेला परेको छ । दुई गाई चोट लागेको अवस्थामा जीवित भेटिएको प्रहरीले जनाएको छ । चार गाईसहित उक्त गाडी भक्तपुरबाट झापातर्फ जाँदै थियो ।

गाडी मकवानपुरको मनहरी गाउँपालिका–४ का ३२ वर्षीय निरज रेग्मीले चलाएका थिए । उनी घाइते छन् । धुलिखेल अस्पतालमा उनको उपचार भइरहेको छ । उनका दाइ ३८ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिकअप गाडी बीपी राजमार्गबाट करिब ५०० मिटर तल खोचमा पूर्ण रूपमा क्षति भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।