राजनीति

राजतन्त्रको अन्त्यपछि देश चौतर्फी विकासको गतिमा छः प्रधानमन्त्री ओली



बारा, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले चौतर्फी विकासको गतिमा अघि बढिरहेको दाबी गरेका छन् ।

शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताए । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको हुलाकी राजमार्गको उदाहरण दिँदै अहिले उक्त परियोजनाको निर्माण तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।

उनले भने, ‘हुलाकी राजमार्गमार्फत अब हामी मेचीदेखि महाकालीसम्म जोडिन गइरहेका छौं। यसले पूर्व–पश्चिम यातायात प्रणालीमा क्रान्तिकारी सुधार ल्याउनेछ ।’ उनले देशभर १० देखि १२ वटा स्मार्ट सिटी निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिँदै यसले शहरी पूर्वाधारमा गुणस्तर वृद्धि गर्ने, व्यवस्थित शहरीकरण गर्ने र समग्र आर्थिक विकासलाई टेवा र्पुयाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले बारा जिल्लालाई माछा उत्पादनको ‘सुपर जोन’ घोषणा गरिएको जानकारी दिए । यस घोषणाले यहाँका किसानहरुको आम्दानी चार गुणाले वृद्धि भएको दाबी गर्दै कृषिमा प्रविधि र आधुनिकीकरणमार्फत उत्पादन वृद्धि भएको बताए । उनले भने, ‘हामी कृषिमा नयाँ सोचसहित अगाडि बढिरहेका छौं । अब उत्पादन मात्र होइन, मूल्य अभिवृद्धि र निर्यातमुखी प्रणाली निर्माण गरी समृद्ध नेपाल बनाउने हाम्रो लक्ष्य हो ।’ उनले कृषि क्षेत्रमा आत्मनिर्भरता कायम गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम अघि सारेको पनि स्पष्ट पारे ।