काठमाडौँ, १३ साउन । कैलालीको धनगढीमा प्रहरीले करिब साढे सात ग्राम लागू औषध (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिक सु.प.प्र. ०१००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ४ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो ।
लागू औषध नियन्त्रण व्युरो, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले मोटरसाइकलमा सवार धनगढी–७ का १९ वर्षीय जीवन मल्ल र २७ वर्षीय आदित्य खड्कालाई पक्राउ गरेको हो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलमा प्र।३–०२–००७ प ५५२० नम्बरको मोटरसाइकल जाँच गर्दा ३ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रहरीले मोटरसाइकलमा सवार धनगढी–१४ का २५ वर्षीय सुभम राना र सेवा रानालाई पक्राउ गरेको हो ।
दुई घटनामा गरी प्रहरीले जम्मा ७ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन र २ वटा मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्