समाचार

पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध



काठमाडौँ, १३ साउन । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सोमबार साँझ करिब ७ः१० बजे भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । राजमार्ग अवरुद्ध भएसँगै  सवारी साधनहरू बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्न सडक विभाग र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।