काठमाडौँ, १६ साउन । संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
बैठक बस्ने समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजे हुने भएको छ । उक्त बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, देखिएका समस्या, समाधान प्रयास तथा समितिको अपेक्षासम्बन्धी विषयमा छलफल गरिनेछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १२:३० बजे समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ विषयमा छलफल हुनेछ । छलफलमा संघ र प्रदेश सरकारका सरोकारवाला मन्त्रालयहरू, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरूको उपस्थिति रहनेछ ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे बस्नेछ। उक्त बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः३० बजे समितिको कार्यकक्षमै बस्नेछ । बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।










प्रतिक्रिया दिनुहोस्