समाचार

दुई फरक स्थानमा दुईजना पुरुष मृत फेला



काठमाडौँ, २० साउन । मोरङ जिल्लाका दुई फरक स्थानमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

उर्लाबारी र बेलबारी नगरपालिकामा भएका घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान घरनजिकैको धानखेतमा मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, लिम्बूको दायाँ नाकबाट रगत बगेको र हातखुट्टा कठ्यांग्रिएको अवस्थामा शव भेटिएको थियो ।

कानुनी प्रक्रिया पूरा गरी उनको शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको छ । बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ आफ्नै धानखेतमा मृत अवस्थामा फेला परेका छन् । उनी युरिया मल छर्न खेतमा गएका थिए ।

प्रहरीका अनुसार ऋषिदेवको शव खेतमै घोप्टो परेको अवस्थामा भेटिएको हो । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।