Banner News

कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा भेरी र बबई नदी क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन



काठमाडौँ, २० साउन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मीहरू परिचालन गर्न निर्देशन दिएका छन् ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी र बबई नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गर्न निर्देशन दिएका हुन् । 

कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बबई र भेरीमा जलस्तरले खतराको तह पार गरेको अवस्थामा त्यहाँको स्थितिबारे जानकारी लिएको बताए ।

उनले भने, ‘राप्ती र बबई नदीमा जलस्तर बढेको स्थितिमा आकस्मिक बैठक बोलाउनुभएको हो । त्यो बाहेक देशभर विपद्मा के भइरहेको छ र कहाँ पानी कति परेको छ भन्ने सन्दर्भमा छलफल गरेका छौँ । आजका लागि राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा अलि बढी पानी पर्ने भएकाले र जलस्तर बढेकाले सचेत हुन सबै सम्बन्धित जिल्लाका सिडिओहरूलाई र सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभयो ।’