एजेन्सी, २१ साउन । श्रीलङ्काको संसद्ले देशका प्रहरी प्रमुख देशबन्दु टेन्नाकोनलाई दुरुपयोग र अनुशासनहीनताको आरोपमा बर्खास्त गरेको छ ।
देशको इतिहासमै पहिलोपटक प्रहरी महानिरीक्षक (आईजीपी) संसद्बाट बर्खास्त गरिएका हुन् । मंगलबार भएको मतदानमा कुनै पनि सांसदले उनको बर्खास्तीको विपक्षमा मत दिएनन् भने एक जना सांसद अनुपस्थित रहेका थिए ।
संसद्ले नियुक्त गरेको विशेष समितिले टेन्नाकोनमाथि छानबिन गरी गत महिना सार्वजनिक गरेको प्रतिवेदनमा उनीमाथि १९ वटा अनुशासनहीनता र पदको दुरुपयोगसम्बन्धी आरोप पुष्टि भएको जनाएको थियो ।
उनमाथिको मुख्य आरोप २०२३ मा वेलिगामा गरिएको एक असफल प्रहरी कारबाहीसँग सम्बन्धित छ, जसमा उनले एक सशस्त्र टोली पठाएका थिए । उक्त टोली अर्कै प्रहरी समूहसँग दोहोरो भिडन्तमा परेको थियो, जसका कारण एक प्रहरीको ज्यान गएको थियो ।
समितिको प्रतिवेदनमा टेन्नाकोनले वेलिगास्थित एक होटलमा होटल मालिकलाई डरत्रास देखाउने उद्देश्यले पठाएको टोलीमाथि गोली चलाउन निर्देशन दिएको उल्लेख छ । एक राज्यका अभियोजकले समितिमा बयान दिँदै टेन्नाकोनले ८५,००० प्रहरी अधिकृतको नेतृत्व गर्ने व्यक्तिका रूपमा “अपराध सञ्जाल” सञ्चालन गरेको र उनी प्रहरी सेवाका लागि अयोग्य रहेको बताएका थिए ।
टेन्नाकोनले गत महिना सुरु भएको महाभियोग प्रक्रियापछि कुनै प्रतिक्रिया दिएका छैनन्। उनी २०२३ मा तत्कालीन राष्ट्रपति रानिल विक्रमसिंघेद्वारा प्रहरी प्रमुखमा नियुक्त भएका थिए । तर सो समयमा नै विपक्षी सांसदहरू र मानव अधिकारकर्मीहरूले उनको नियुक्तिको विरोध गरेका थिए । ५४ वर्षीय टेन्नाकोन श्रीलङ्काको इतिहासमै महाभियोगमार्फत बर्खास्त गरिने पहिलो प्रहरी प्रमुख बनेका छन् ।










प्रतिक्रिया दिनुहोस्