समाचार

खोलाले बगाउँदा एक युवक बेपत्ता



मुस्ताङ, २४ साउन । मुस्ताङमा जंगलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवाक बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यायल मुस्ताङका अनुसार बागलुङको जिल्ला निसी खोला गाउँपालिका–६ घर भई हाल मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत ६ महिनादेखि कार्यरत २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएका हुन् ।

श्रीमतीसहित पाँचजनाको समूह कोभाङ फेदी जंगलमा च्याउ टिप्न जाने क्रममा सोही स्थानमा रहेको धुम्बा खोला तर्ने क्रममा अचानक खोलाको पानीको बाहव बढ्न गई विकलाई खोलाले बेपत्ता बनाएको हो ।

धुम्बा खोलाले युवकलाई बगाउँदा बेपत्ता भएको खबर सोही स्थानमा बस्ने डिल्लीजंग गुरुङले जिल्ला प्रहरी मुस्ताङलाई खबर दिएका थिए ।

धुम्बा खोलाले बगाउँदा युवा बेपत्ता भएको प्रहरी कार्यालयमा खबर गरिएलगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमान्डमा आठजनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमान्डमा सातजनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको प्रहरीले जनाएको छ ।