काठमाडौँ, २६ साउन । युट्युब अकाउन्ट खोल्दा आफ्नो उमेरबारे गलत जानकारी दिने बालबालिका र किशोरमाथि कडाइ गर्ने तयारीमा छ ।
कम्पनीले १३ अगस्टदेखि संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिमा आधारित नयाँ उमेर प्रमाणिकरण प्रणाली सुरु गर्न लागेको हो ।
यस प्रणालीले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई पत्ता लगाउनेछ, चाहे उनीहरूले साइन–अपको समयमा झूटो जन्ममिति नै किन नदिएका होउन् ।
हालसम्म युट्युबले अकाउन्ट खोल्दा प्रयोगकर्ताले दिएको जन्ममितिमा मात्र भरोसा गर्थ्यो, तर नयाँ प्रणालीले प्रयोगकर्ताको गतिविधिका आधारमा उसको वास्तविक उमेरको अनुमान गर्नेछ। प्रयोगकर्ताले हेर्ने भिडियोको प्रकार, प्लेटफर्ममा गर्ने खोज, र अकाउन्ट सक्रिय भएकोअवधि जस्ता विवरणको विश्लेषण गरेर उमेर पत्ता लगाइनेछ । यस कदमको उद्देश्य नाबालिगले वयस्कको अकाउन्ट प्रयोग गर्ने वा आफ्नो उमेर लुकाउने अवस्थालाई नियन्त्रण गर्नु हो ।
यदि प्रणालीले कसैलाई १८ वर्षभन्दा कम उमेरको ठानेमा, त्यस अकाउन्टमा व्यक्तिगत रुचिअनुसारका विज्ञापन तुरुन्त बन्द हुनेछन् । साथै, डिजिटल वेलबिइङ सुविधा सक्रिय भई सुत्ने समय सम्झाउने र स्क्रीन टाइमको निगरानी गर्ने व्यवस्था लागु हुनेछ। केही संवेदनशील वा बारम्बार हेर्दा हानिकारक हुनसक्ने सामग्रीमा पनि पहुँच रोक लगाइनेछ ।










प्रतिक्रिया दिनुहोस्