काठमाडौँ, २८ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
मङ्गलबार यहाँ आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड–२०८२ मा मन्त्री गुरुङले आदिवासी पत्रकारिताले मुलुकको सञ्चार क्षेत्रमा ठूलो योगदान पुर्याएको चर्चा गरे ।
त्यस अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आदिवासी जनजातिको हकहित र अधिकारका सवालमा फोनिजले अझ गहिरो र प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिए । उनले पत्रकारहरूले समुदायका आवाजलाई मुखरित गर्दै नीति निर्माण तहमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भनाइ राखे ।
फोनिजका अध्यक्ष लक्की गुरुङले आदिवासी जनजातिसम्बन्धी विषयलाई सशक्त रूपमा अघि बढाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गरे । उनले आगामी दिनमा तालिम, गोष्ठी, अनुसन्धान र अन्तर्राष्ट्रिय मञ्चमा सहभागितामार्फत आदिवासी पत्रकारिताको दायरा अझ विस्तार गर्ने योजना रहेको सुनाए ।










प्रतिक्रिया दिनुहोस्