भोजपुर, २८ साउन । बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो ।
बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन् ।
बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौ वटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ ।
बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई–६ का स्थानीय राजेन्द्र राईले बताए । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उनको भनाइ छ । भोजपुर नगरपालिका क्षेत्रमा बादर आतङ्क बढेकाले बस्ती खाली बन्दै गएको स्थानीयवासी कमल तामाङले बताए । बाँदरले खेतमा पसेर भर्खर रोपेको धानको गुबो नै नष्ट गरिदिने गरेको उनको भनाइ छ । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय तल्लो क्षेत्रका स्थानीयले गाउँ नै छाड्न थालेका छन् ।










प्रतिक्रिया दिनुहोस्