Banner News

दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको छ : सभापति देउवा



काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको बताएका छन् । 

आज पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव दिवसीय अन्तर्क्रिया’ कार्यक्रममा सभापति देउवाले सूचना प्रविधिले जनताको जीवन शैलीलाई बदल्न मद्दत पुर्‍याइरहेको बताए ।

देउवाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको बताए । उनले नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको बताए । ‘कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको छ,’ देउवाले भने, ‘ नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको छ ।’

देउवाले कांग्रेस पनि सहभागी वर्तमान सरकार डिजिट नेपाल बनाउन लागिरहेकोसमेत बताए । अहिलेको युग विज्ञान, प्रविधिको युग भएको बताउँदै देउवाले यसका सकारात्मक पक्ष धेरै भएको बताए । डिजिटल प्रविधिका सकारात्मक पक्ष धेरै हुँदाहुँदै पनि पछिल्लो समय नकारात्मक पक्ष पनि देखिएको बताए ।