राजनीति

भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा



काभ्रेपलाञ्चोक, ४ भदौ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको हो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । 

यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले विसं २०७६ मसिंर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका थिए । 

कार्यालयका अनुसार हाल दुई वडाको ४५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानबिन गरी लालपूर्जा बनाउन बाँकी छ । कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा ३०० र वडा ८ मा ६०० लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिए।