Banner News

कर्णालीलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन प्रतिबद्ध छौँ: मुख्यमन्त्री कँडेल



सुर्खेत, ४ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उनले विकास, सुशासन र सामाजिक न्यायको जगमा कर्णालीलाई समृद्धिको बाटोमा अघि बढाउन सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।

बुधबार ‘प्रदेश स्थापना तथा सहिद दिवस, २०८२’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सहिदहरूको बलिदानबाट प्राप्त प्रदेशको सपना साकार पार्न सबै एकताबद्ध हुनुपर्ने बताएका छन् । प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मुख्यमन्त्री कँडेलले कर्णाली केवल भौगोलिक इकाई नभई गौरवशाली इतिहास, संस्कृति र परम्पराको धरोहर भएको बताए । 

उनले भने, ‘प्रदेश संरचना केवल प्रशासनिक व्यवस्था मात्र नभई नागरिक अधिकार र जनसहभागिताको आधार हो । यस संरचनाप्रति अपनत्व बढाउनु हामी सबैको साझा दायित्व हो ।’

प्रदेशमा भौगोलिक विकटता, पूर्वाधारको कमी, स्वास्थ्य तथा शिक्षामा असमानता र रोजगारी अभावजस्ता चुनौती रहेको स्वीकार कँडेलले गरेका छन् । ती चुनौतीलाई अवसरमा बदल्ने दृढ सङ्कल्प सरकारसँग रहेको उनको भनाइ छ । विकास, समृद्धि र सामाजिक न्याययुक्त कर्णाली साझा गन्तव्य भएको उनको बुझाइ छ । त्यो सबैको संयुक्त प्रयास, एकता र दृढ इच्छाशक्तिले मात्रै गन्तव्यमा पुग्न सकिने बताए।