भक्तपुर, ४ भदौ । नेपाली स्वाद र नेपाली खानाको परिकारलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ भक्तपुरमा भोजनलिपि स्वादको छैटौं संस्करणको तीज विशेष कार्यक्रम आयोजना गरिएको छ ।
भक्तपुरको मध्यपुर थिमी स्थित रोयल थाइको आयोजनामा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । नेपाली खाना प्रवद्र्धन अभियान अन्तरगतको छैटौं संस्करण भक्तपुरमा आयोजना गर्दै नेपाली खानाको परिकार र थाइल्याण्डका परिकारहरुको संयुक्त रुपमा स्वाद पस्किएको थियो । उक्त क्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, नेपालका लागि थाइल्याण्डका राजदुत एचई सुवापोङ सिरिसोङलगायतका विशिष्ट व्यक्तहरुले परिकारको स्वाद लिनुभएको थियो ।

अभियानको लक्ष्य नेपाली खानाका परिकारहरु छिमेकी देशलगायतका अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गरी छुट्टै पहिचना स्थापित गराउने रहेको बताइएको छ । ‘नेपालको खानाका परिकारहरु विदेशीको रोजाई तथा उत्कृष्ट स्वादको रुपमा स्थापित भएको छ’, अभियानका संयोजक देवी सापकोटाले भन्नुभयो, ‘यो अभियान ब्राण्डिङ गर्नेमात्र नभई फुड रिसर्च गर्ने पनि हो ।’
अभियान कम्तिमा पनि १००औं संस्करण गर्ने लक्ष्य रहेको संयोजक सापकोटाले बताउनुभयो । ‘हाम्रो लक्ष्य अनुसारको संस्करणहरु पुरा गर्न कम्तिमा हामीलाई देशका विभिन्न क्षेत्रहरुमा गरी दुई वर्ष लाग्नेछ,’ उहाँले भन्नुभयो, ‘हालसम्म हामीले ४४ जिल्लाभन्दा बढी ठाउँमा उत्पादन भएका परिकारहरु स्वदेशी तथा विदेशी पाहुनाहरुलाई खुवाई सकेका छौं ।’ विशेष गरी नेपालमा उत्पादित कोदो, जुस, फलफुलका परिकार, दुधका परिकार, खुर्सानी लगायतलाई अन्तर्राष्ट्रि स्तरमा छुट्टै पहिचान स्थापित गराउने अभियानको लक्ष्य रहेको बताइएको छ ।

यसमा अर्गानिक खानाका परिकारहरु हुने बताइएको छ । जुम्लाका मानिसहरुले स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई सस्तोमा विक्रि गरी काठमाडौँमा महंगो तथा रोजाईमा स्वाद लिइरहेको तथा सो स्थानीय तहमा चाउचाउ खाएर मानिस दुव्लाई रहनुपर्ने अवस्थालाई अन्तय गर्न यो अभियान चलाईएको बताइएको छ । स्थानीय परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गरी उत्पादन, रोजगार तथा आर्थिक समृद्धिलाई समेत महत्वपूर्ण टेवा पुग्ने अभियानको बुझाई रहेको छ ।
कार्यक्रममा संक्षिप्त कुरा गर्दै मन्त्री खड्का, नेता बस्नेत तथा राजदुत सिरिसोङले परिकारको स्वादहरु उत्कृष्ट तथा रोजाईको भएको उल्लेख गर्दै सम्बन्धित ठाउँबाट आवश्यक सहयोग तथा निरन्तर साथ रहेको प्रतिवद्धता जनाउनुभयो । यस्ता कार्यहरुले नेपालको आर्थिक समृद्धिमा समेत विशेष टेवा पुग्ने तथा पछिल्लो समय विदेश पलायन हुने नवयुवाहरुलाई स्वदेशमा नै सम्भावनाहरु अथाह छन् भन्ने विश्वास दिलाउन समेत अभियानले विशेष भूमिका खेल्ने उहाँहरुले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्