काठमाडौँ, ८ भदौ । पश्चिममा रहेको आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमाथि भएको अतिक्रमण र सीमाका अन्य हस्तक्षेपलाई लिएर नेपालले १० वर्षमा भारतलाई ८ र चीनलाई ३ पटक कूटनीतिक नोट पठाएको छ ।
भारतमा यसअघि पठाइएका ७ नोट अनुत्तरित रहेकै बेला नेपालले आठौं पटक भारतलाई झकझकाएको हो । सीमा र नेपालीभूमि प्रयोगकै विषयलाई लिएर चीनलाई पनि ३ पटक कूटनीतिक नोट पठाएको छ । चीनले पनि एक पटक मात्र जवाफ दिएको छ ।
भारतलाई पठाइएको नोट
- जेठ २०७२ : भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौता गरेकामा आपत्ति जनाउँदै
- २० कात्तिक २०७६ : भारतले जारी गरेको राजनीतिक नक्साप्रति आपत्ति जनाउँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको दाबी
- ५ मंसिर २०७६ : भारतले जवाफ नदिएपछि ऐतिहासिक तथ्यहरूसहित लिम्पियाधुरासम्म नेपाली भूभाग भएको अर्को नोट
- २९ वैशाख २०७७ : नेपाली भूमि हुFदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि अतिक्रमणको विरोध
- ७ मंसिर २०७७ : नेपालले लिम्पियाधुरासम्मको आफ्नो भूमि समेटेर चुच्चे नक्सा जारी गरेको बारे जानकारी
- १ भदौ २०७८ : महाकालीमा भारतीय सुरक्षा बलले तुइनको लट्ठा चुाडाइदिएपछि ३३ वर्षीय जयसिंह धामी बगेर बेपत्ता भएको र नेपाली ‘एयर स्पेस’ मा भारतीय हेलिकोप्टरले गस्ती गरेको घटनाप्रति आपत्ति
- २० मंसिर २०७९ : महाकालीमा सडक विस्तारप्रति आपत्ति
- ५ भदौ २०८२ : भारत र चीनबीच नेपाली भूमि लिपुलेक पास नाका हुँदै व्यापार गर्ने सहमति गरेकामा असन्तुष्टि
चीनलाई पठाइएको नोट
- जेठ २०७२ : चीन र भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौता गरेकामा आपत्ति
- २९ वैशाख २०७७ : भारतले चीनमा रहेको तीर्थस्थल मनसरोवर जान नेपाली भूमि हुँदै सडक बनाएको र उद्घाटन गरेकामा नेपालको आपत्ति रहेको बारे जानकारी
- ५ भदौ २०८२ : लिपुलेक नेपाली भूमि भएकाले त्यसको प्रयोग गरी व्यापार गर्न भारतसँग सहमति गर्नुअघि चीनले नेपाललाई नसोधेकामा असन्तुष्टि










प्रतिक्रिया दिनुहोस्