राजनीति

भियतनामबाट भैरहवा र पोखरा सिधा उडानका लागि आग्रह



काठमाडौँ, ८ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनलाई भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा सिधा उडानको वातावरण निर्माणका लागि आग्रह गरेकी छिन् ।

उनले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताबीच सम्बन्ध विस्तारको कडी रहेकोमा जोड दिइन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको प्रसंग उल्लेख गर्दै मन्त्री राणाले सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सक्ने पनि बताइन् ।

भियतनामकी उपराष्ट्रपति भो थी आन सुआन नेपालको तीनदिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी नेपाल आएकी हुन् । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । यही अवसरमा उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा आएकी हुन् ।

शनिबार उपराष्ट्रपति सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको परराष्ट्रले जनाएको छ । उपराष्ट्रपति सुआन सोमबार भियतनाम फर्किनेछिन् ।