राजनीति

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच भेटवार्ता



काठमाडौँ, ८ भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।

शनिबार काठमाडौँ आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुआनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् ।