समाचार

एकै दिनमा ११४ जना हैजाका बिरामी अस्पताल भर्ना



काठमाडौँ, १२ भदौ । वीरगन्ज महानगरमा फेरि हैजा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको छ । मङ्गलवार घटेको हैजा सङ्क्रमितहरूको सङ्ख्या बुधबार भने ह्वात्तै बढेको हो ।

जनस्वास्थ्य कार्यालय पर्साका अनुसार आज एकै दिनमा एक सयभन्दा बढी नयाँ केस आएको छ । जिल्लाका विभिन्न अस्पतालमा बुधबार मात्रै ११४ झाडा पखाला तथा हैजाका शङ्कास्पद बिरामीहरू अस्पताल भर्ना भएका जनस्वास्थ्य कार्यालय पर्साका शाखा अधिकृत जयमोद ठाकुरले बताए ।

जनस्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लाका विभिन्न अस्पतालमा २८३ जना बिरामी उपचाररत छन् । यद्यपि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरूको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालयको आँकडाले देखाएको छ ।

यो ६ दिनको अवधिमा अस्पताल भर्ना भएका मध्ये २५८ जना डिस्चार्ज भएर घर फर्किसकेका शाखा अधिकृत ठाकुरले बताए ।

नारायणी अस्पतालमा सबै बिरामीको उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अहिले यहाँ भर्ना हुनेको सङ्ख्या बढेको छ ।