काठमाडौँ, १४ भदौ । नेपालले भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ ।
चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबिच काठमाडौँमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाएको छ । बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए ।
नेपालबाट थर्मलरूपमा प्रशोधित भैँसीको मासु र भैँसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थ विशेष गरी घ्यु, नौनी, वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ । नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया तथा कफी र जडीबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ ।
हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत निर्यात हुँदै आएको छ । त्यस्तै हरियो घाँस हेलेज पाँच वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ ।
बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्गले चीनले नेपालबाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्त्व दिएको बताए । ‘व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन, सहजीकरण गर्न हामी तयार छौँ’, उपमन्त्री वाङ्गले भने ।
बैठकमा कृषि मन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभूत सर्त खोरेत मुक्त क्षेत्र घोषणालगायतका प्रक्रियादेखि चीनको क्वारेनटाइन मापदण्ड पुरा गर्न प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिन समेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए । द्विपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्