काठमाडौँ, १४ भदौ । कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ ।
माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुन सकेको छैन ।
किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताइन् ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा दुई हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछापालन गरिएको थियो । त्यसअघि आव २०८०/८१ मा दुई हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछापालन गरिएको उनले बताइन् । कार्प जातका माछाको उत्पादन बढेको छ । उक्त माछा आव २०८०/८१ मा नौ हजार ३७७ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०८१/८२ मा उत्पादन बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको छ ।
उपभोक्ताले रुचाउन माछाको अर्को जात पङ्गासको पनि उत्पादन र माछापालन क्षेत्रफल दुवै वृद्धि भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएअनुसार आव २०८१/८२ मा पङ्गास माछा कोशी प्रदेशमा तीन हजार ३९९ मेट्रिक टन उत्पादन भएको थियो । जबकि आव २०८०/८१ मा यो माछा दुई हजार ३६६ मेट्रिक टनमात्र उत्पादन भएको थियो ।
निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशमा आव २०८१/८२ मा पङ्गास माछापालन गरिएको पोखरीको सङ्ख्या चार सय १३ र आव २०८०/८१ मा मात्र चार सय पाँच रहेको थियो । आव २०८१/८२ मा यो माछापालन भइरहेको क्षेत्रफल एक सय १० हेक्टर र आव २०८०/८१ मा ७८ हेक्टर रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्