Banner News

इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु



इरान, १५ भदौ । इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिबार पुष्टि गरेको छ ।

गत वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुन् । 

हुथीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी प्रधानमन्त्री नासेर अल राहावीको शहादतको घोषणा गर्दछौँ। शत्रुले उनीहरूलाई निशाना बनाएका कारण उहाँसहित उहाँको मन्त्रीमण्डलका कैयौँ सहकर्मीले शहादत प्राप्त गरेका छन् । आक्रमणमा हुथी नेता नासेरसहित केही अधिकारीको मृत्यु भएको र अन्य केहीसामान्यदेखि गम्भीर घाइते भएका छन् र उनीहरूको बिहीबार दिउँसोदेखि उपचार भइरहेको छ ।”

इजरायली सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना क्षेत्रमा बिहीबार आक्रमण गरेको थियो । प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्ध सुरुभएदेखि नै इजरायलमाथि बारम्बार क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।

विद्रोही समूहले सन् २०१४ देखि युद्धको चपेटामा परेको यमनको ठूलो भागलाई नियन्त्रण गरेको छ र यो मध्यपूर्वका अधिकांश भागमा रहेका लडाकू समूहहरूसँगै इरानको इजरायल विरोधी गठबन्धनको हिस्सा हो।