ललितपुर, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने दाबी गरेका छन् ।
गोदावरी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “देशमा ओलीको विकल्प छैन। संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो ।”
पोखरेलले ७० वर्षे उमेर सीमा बढाइएको ओलीका लागि मात्र नभएको उल्लेख गर्दै, नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण ओली नै राष्ट्रको विकल्प रहेको दोहोर्याए। उनले भने, “संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ। पूर्व राष्ट्रपतिलाई सम्मानित र मर्यादित रहनु आवश्यक छ। पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन।”
महासचिव पोखरेलले दुर्गा प्रसाई र रवि लामिछानेजस्ता नेताहरूको “छाडा बोल्ने प्रवृत्ति र अराजकताप्रतिको प्रशंसा समाजका लागि हानिकारक” भएको बताए।
उनले भारतले लगाएको नाकाबन्दीको ओलीकै नेतृत्वमा डटेर सामना गरिएको उल्लेख गर्दै थपे, “कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा बदल्ने सामर्थ्य ओलीबाहेक कसैमा छैन। ढिलोचाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ।”
उनका अनुसार एमाले पटक–पटक फुटेपनि पुनः संगठित हुने क्षमता राख्ने पार्टी हो। “दूरदर्शी नेतृत्व ओलीमै छ, एमाले बलियो राजनीतिक शक्ति बनेको छ र अब ‘मिसन ८४’ सफल पार्दै अघि बढ्छ,” पोखरेलले भने ।










प्रतिक्रिया दिनुहोस्