सम्पादकीय

मतदाता भन्छन् ‘भोट हाल्न आउँदैन



बारा, १ असोज । कलैया उपमहानगर-६ का ८५ वर्षीय हीरा दास सोमबार हुने मतदानको व्यग्र प्रतीक्षामा छन् । तर, रोजेको उम्मेदवारको चुनाव चिह्न थाहा पाउने र भोट हाल्ने तरिकाबारे उनी अझै अन्योलमै छन् । उनलाई कसैले मतदाता शिक्षा दिएका पनि छैनन् ।

शनिबार आफ्नो पसलमा बसिरहेका दास सामान किन्न आउने जोकोहीसित मतदान गर्ने तरिकाबारे जिज्ञासा राखिरहेका देखिन्थे । ‘भोट हाल्न मन छ तर स्वस्तिक छाप कसरी र कुन लाइनमा हाल्दा बिग्रिँदैन भन्ने थाहा छैन,’ उनले भने, ‘मतपत्र हेर्दा लामो छ, थुपै्र चिह्न देखिन्छन् ।’

कलैयाबाट २० किमि दक्षिणपश्चिमको सीमावर्ती गाउँ विश्रामपुर–१ का ७० वर्षीय महन्थ महतो कुसवाहाले पञ्चायतदेखि दोस्रो संविधानसभासम्मका चुनावमा भोट हालिसकेका छन् । तर, यसपालिको मतपत्र देख्दा उनी मत बदर नहोला भन्नेमा ढुक्क छैनन् ।

‘मतपत्र झन्झटिलो र लामो भएकाले अलमलमा छौं,’ उनले भने, ‘कुन लाइनमा कसरी छाप लगाउँदा बदर हुँदैन, थाहा छैन ।’ कुशवाहाका अनुसार मतदान गर्ने सही तरिका कसैले सिकाएका छैनन् । घरदैलोमा आएका नेता- कार्यकर्ताले भोट हाल्न सिकाउने भने पनि मतपत्रमा आफ्नै दलको चुनावचिह्नभन्दा अन्त देखाएनन् । ‘सरकारका कर्मचारी एउटै आएनन्, मतदाता शिक्षासम्बन्धी कुनै किसिमको किताब पनि हेर्न पाइएन,’ उनले भने ।

स्थानीय तह पुनस्संरचनापछि पहिलोपटक हुन लागेको चुनावका लागि जिल्लाका अधिकांश तहमा मतदाता शिक्षा कमजोर भएको पाइएको छ । कलैया र जितपुर सिमरा उपमहानगरलगायत १६ वटै स्थानीय तहका मतदाता छिमेकी र परिवारभित्र आपसी छलफल तथा उम्मेदवारका मान्छेबाट सिकेका भरमा मतदान गर्न तयार छन् ।

चारपटक चुनाव सर्दासमेत यो अवधिमा खटाइएका झन्डै पाँच हजार कर्मचारी सबै मतदातामाझ पुगेनन् । निर्वाचन आयोगले बदर मत घटाउन निर्वाचन शिक्षा अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । मददाता शिक्षासम्बन्धी सामग्रीहरू शनिबारसम्म पनि जिल्ला निर्वाचन कार्यालय परिसरमै थुप्य्राइएका छन् । ती कुहिन लागिसके । महिला र वृद्धवृद्धा झन् अन्योलमा छन् । ‘उम्मेदवारकै मान्छेले जे सिकायो त्यति जानकारी छ,’ कलैया- ४ की रमावती देवी जयसवालले भनिन् ।

विश्रामपुर गाउँपालिका- १ का ५० वर्षीय हरिशंकर यादव स्वतन्त्रपूर्वक मतदान गर्ने बताउँछन् । ‘दलका नेता कार्यकर्ता मात्र आए, स्वतन्त्र भएर बुझाउन कोही आएनन्,’ उनले भने, ‘अब आफ्नै बुझाइको भरमा मतदान गर्ने तयारीमा छु ।’ मतपत्रबारे पनि उनी पनि अन्योलमै छन् । ‘ठाडो र तेर्सो कुन लाइनमा कसरी मत दिने अन्योल छ,’ उनले भने, ‘मतदाता शिक्षा लिएर कर्मचारी गाउँ पसेनन् ।’

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेश सर्राफले सुरुमा राजनीतिक टकरावले मतदाता शिक्षा प्रभावित भएको बताए । ‘संविधान संशोधन र राजनीतिक दलहरूबीच राजनीतिक सहमति हुनुअघि मतदाता शिक्षा चलाउँदा अवरोधै अवरोध भयो, ३ दिनको तालिम १ दिनमै सिकाएर कार्यक्रम समापन गरियो,’ उनले भने, ‘राजनीतिक सहमति भएपछि चुनावको अरू व्यवस्थापनमा व्यस्त भयौं ।’ कान्तिपुरमा समाचार छ ।