राजनीति

युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन : महासचिव पोखरेल



ललितपुर, २२ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताएका छन् ।

ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए । महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिए । उनले  पार्टीमा युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने बताए ।

 ‘४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा  जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने । पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ । हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन । महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ । पाटी सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन ।’

‘पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली तडकभडक जुन बढेको छ त्यसलाई जनताले निगरानी गरिरहेका छन्’, उनले भने । उनले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेट्ने जानकारी दिए ।