राजनीति

एमालेमा ७० वर्ष उमेरहद र २ कार्यकालको प्रबन्ध हट्यो



काठमाडौँ, २३ भदौ । केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल पनि अध्यक्ष बन्न बाटो खुला गर्दै एमालेको विधान महाअधिवेशन आइतबार सकिएको छ ।

महाधिवेशनले पदाधिकारीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्थालाई नयाँ विधानको मस्यौदाबाट हटाउँदै ओलीलाई पुनः अध्यक्ष हुने वैधानिक प्रावधान सुनिश्चित गरेको हो । 

भदौ २०७८ मा भएको पहिलो विधान महाधिवेशनले पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी नहुने प्रावधान पारित गरेको थियो । तर गोदावरीमा तीन दिनसम्म चलेको दोस्रो विधान महाधिवेशनले त्यसलाई संशोधन गरेर हटाएको हो ।

केन्द्रीय कमिटीबाट पारित मस्यौदालाई महाधिवेशनले जस्ताको तस्तै पारित गरेको छ । नयाँ प्रावधानले ७० नाघेका नेता र दुई वा दुईभन्दा बढी पटक कार्यकारी पदमा बसेका नेताका लागि पनि अवसर खुलेको छ ।