Banner News

फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी



रौतहट, १ असोज । गौरस्थित कारागार कार्यालयबाट जेनजी आन्दोलनको दिन फरार भएका कैदीबन्दीहरुलाई थप कारबाही गर्ने  जिल्ला प्रहरी कार्यालय रौतहटले चेतावनी दिएको छ । 

कार्यालयले एक सूचना जारी गर्दै कैदीबन्दीबारे कुनै जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार एक सूचना जारी गर्दै प्रहरीले फरार कैदीबन्दीहरु सम्पर्कमा आएमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालय गौर, रौतहटमा जानकारी गराउन अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्यथा प्रहरी र कारागार कार्यालयसँग सम्पर्क नगराई भागी हिँडेमा कारागार ऐन २०१९ को दफा ४४ को (१) बमोजिम तोकिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।”

कुल २९१ कैदी रहेको गौर कारागारबाट गत २४ गते राती २७ जना बाहेक सबै फरार भएका थिए। सो मध्ये हालसम्म कारागार गौरमा ११२ जना कैदी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताएका छन् । १७९ जना कैदी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।