Banner News

वर्तमान सरकार युवापुस्तासहित सबै नागरिकका आशा र अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की



काठमाडौँ, ३ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार युवापुस्तासहित सबै नागरिकका आशा र अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।

आज संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडीखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन् ।

उनले जेन जी पुस्ताको आन्दोलन, विगतका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम भएको पनि बताइन् ।

उनले भनिन्, ‘अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यि एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ ।’