राजनीति

अहिले देश रोइरहेको छ, अब सबै राजनीतिक दलहरू पुनर्गठन हुनुपर्छ  : अष्टलक्ष्मी शाक्य



काठमाडौँ, ३ असोज । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले देश रोइरहेको अवस्था अब सबै राजनीतिक दलहरू अब पुनर्गठन हुनुपर्ने बताएकी छन् ।

आज संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताएकी छन् । हाल देश नै रोइरहेको भन्दै उनले अब शोकलाई शक्तिमा परिणत गर्नुपर्ने उल्लेख गरिन् । भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने नयाँ युवापुस्ताका माग नाजायज नभएको उनले बताइन् । सरकार पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनाबद्ध ढंगले लागेको उनको भनाइ थियो ।

उनले भनेकी छन्, “आक्रोशको ज्वाला आगोमा परिणत हुँदाखेरि देश ध्वस्त भयो । त्यसो भएको हुनाले पनि हामी धेरै पीडित छौँ । मर्माहत छाँै । शोकाकुल छौँ । अत्यन्तै पीडामा छौँ । नयाँ युवापुस्ताका मागहरू भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज थिएन । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनाबद्ध ढंगले लागेको पनि थियो । तर, त्यो आन्दोलनको मागलाई हामीले अबको दिनमा सम्बोधन गर्नुपर्छ, बेवास्त गर्नु हुँदैन । जेनजी पुस्तालाई हामीले कस्तो दृष्टिकोणले हेर्ने सबै राजनीतिक दलहरू स्पष्ट हुन जरुरी छ । रोजीरोटीको लागि अघि बढिरहेको बेलामा, आमाको काख छोडेर विदेश धाइरहेको बेलामा, जन्मिएको माटोलाई छोडेर विदेश दौडिरहेको बेलामा जेनजी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर यो आन्दोलन अघि बढाए । तर, धमिलो पानीमा माछा मार्ने भनेझैँ अनेकौँ तत्त्वहरूले त्यसलाई दुरुपयोग गर्ने काम गरे, जसले धेरै युवापुस्ताको ज्यान गयो । अहिले देश रोइरहेको अवस्था छ । अब सबै राजनीतिक दलहरू यति बेला अब पुनर्गठन हुनुपर्छ । नयाँ सोचका साथ अघि बढ्नुपर्छ । राम्रा कामहरू आत्मसात् गर्दै कमी–कमजोरी सच्याएर अघि बढ्नैपर्छ ।”