समाचार

अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन सुरु



काठमाडौँ, ५ असोज । अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

 तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

आज बिहानैदेखि पहिरो हटाउन थालिएको छ । कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६:३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ। पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु भएको हो । 

यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ । सकभर वैकल्पिक सडकको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।