Banner News

देउवा, प्रचण्ड र खड्काको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु



काठमाडौँ, ६ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । घटनाको डेढ सातापछि विभाग अनुसन्धानमा जुटेको हो ।

‘जेन–जी’ आन्दोलनका क्रममा २४ भदौमा प्रदर्शनकारीले देउवा र खड्काको बूढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । यता, राजस्व अनुसन्धान विभागका एक अधिकारीले पनि नेताका घरमा जलेको अवस्थामा नेपाली र विदेशी मुद्रा भेटिएको विषयलाई ‘नोटिस’ मा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

‘आगजनी भएका कतिपय नेताका घरमा नोट भेटिएको र कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेको भनी विभिन्न तस्बिर र भिडियो बाहिरिएका थिए, यसमा हामीले सूक्ष्म रूपमा नियालिरहेका थियौं,’ विभागका एक अधिकारीले भने, ‘अहिले बाहिर आएका विवरणहरूको प्रारम्भिक स्क्रिनिङपछि घटनास्थलमै गएर हेरिएको छ ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित घरमा पनि गएर अवलोकन गर्ने तयारीमा जुटेको एक अधिकारीले जानकारी दिए । दाहालको जलेको निवासमा पनि अहिले प्रहरी खटाएर पहरा दिइएको छ । घर जलेपछि दाहाल अन्यत्र बस्दै आएका छन् ।